फुटबल टोली युएई प्रस्थान

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाडौँ, २८ असार । संयुक्त अरब इमिरेट्समा हुने एएफसी तेइस वर्षमुनि (यु–२३)को च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागी हुन नेपाली फुटबल टोली आज बिहान त्यस तर्फ प्रस्थान गरेको छ  । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा  हिजो एक कार्यक्रम बीच टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा दिएर बिदाइ गरिएको थियो  ।

यही असार ३१ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल समूह डीमा परेको छ । नेपालको समूहमा आयोजक युएई, उज्वेकिस्तान र लेबनान छन् जसमा नेपालले आफ्नो पहिलो खेल युएईसँग शनिबार खेल्दै प्रतियोगिताको उद्घाटन हुनेछ । त्यसैगरी दोस्रो खेलमा नेपाल सोमबार उज्वेकिस्तानसँग भिड्नेछ भने तेस्रो तथा समूह चरणको अन्तिम खेल बुधबार लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।
सन् २०१८ मा चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपको छनोट चरणमा सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता र १० समूहका उत्कृष्ट पाँच उपविजेता टोली फाइनल प्रतियोगिताको लागि छनोट हुने प्रावधान छ । त्यस्तै आयोजकका हैसियतले चीन भने प्रतियोगितामा सिधै छनोट हुनेछ ।