काठमाडौं । एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणको पहिलो खेलमा नेपाल यूएई सँग पराजित भएको छ । शनिवार राती भएको खेलमा आयोजक यूएईसँग ५–०को फराकिलो हार व्येहोरेको हो ।नेपाली टोलीको सुरुआत निकै कमजोर ढंगले भएको थियो ।
नेपाल पहिलो हाफको कुनै पनि समय सम्हालिन सकेन र एक पछि अर्को गोलको सामना गर्न बाध्य भयो । ३३ मिनेट भित्र नै नेपाली टोलीले ४ गोल खाइसकेको थियो ।अहमद हुसेनले आठौं र उनले नै दोस्रो गोल २०औं मिनेटमा गरेका थिए । खालिदको क्रममा मोहम्मद अलकबेरीले २३ औं मिनेटमा हेड गोल गर्दै नेपाली टोलीमाथि दबाब थपे । ३३ औं मिनेटमा यूएइले पेनाल्टीमा अर्को गोल थपेको थियो । पेनाल्टी बक्समा दिनेश राजवंशीले ह्यान्ड गरेपछि युएईले पेनाल्टी पाएको थियो । खलिद अब्दुल रहिमले पेनाल्टीमा गोल गर्दै गोलअन्तरलाई बढाएका थिए ।
खेलको ६०औं मिनेटमा युएईका मोहम्मद रशिदले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई ५ ०को अग्रता दिलाएका थिए। खेलमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि नेपालले पहिलो खेलमा ५-०को पराजय भोग्यो।जितसँगै युएईले समूहमा महत्त्वपूर्ण ३ अंक जोडेको छ भने नेपाली टोली अंकविहिन रहेको छ। नेपाली टोलीले समूहको अन्य खेलमा सोमबार उज्वेकिस्तान र बुधबार लेबनानको सामना गर्नुपर्नेछ।