राजधानीमा बढ्दै मौसमी रुघाखोकीका बिरामी,प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा छिटो संक्रमण हुने

arjun Others/अन्य , ७ वर्ष अगाडि

काठमाडौँ, १६ साउन । राजधानीलगायत देशका अन्य भागमा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस)का बिरामीको संख्या बढेको छ । दुई महिनाको अवधिमा दुईजना बिरामीको मृत्यु भएको छ । इन्फ्लुएन्जा भाइरस टाएप ‘ए’ को (एच१एन१) भाइरसबाट संक्रमित बिरामीको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सुरुमा यसको भाइरस सुँगुरबाट सर्ने भएकाले स्वाइनफ्लु अहिले यसमा मिसमास भएकाले प्राविधिक रुपमा स्वाइन फ्लु भन्नु गलत हुने चिकित्सकको भनाइ छ । गत साताबाट स्याङ्जाको वालिङमा मौसमी इन्फ्लुएन्जाले प्रभावितको संख्या बढेपछि काठमाडौँमा पनि सर्तकताका लागि अपिल गरिएको महाशाखाको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आर्चायले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरस छिटो संक्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन आग्रह गरे  ।

उनले भने , ‘‘सामान्य मौसमी रुघाखोकी भएकाले धेरै डराउनुपर्ने नभए पनि सर्तक हुनुपर्छ, खासगरी केही जटिलता भएमा भने मृत्यु हुने खतरा बढी हुन्छ ।’’ उनले विगतमा सुँगुरबाट (एच१एन१) भाइरस सर्दै आएको थियो । अहिले यसले आफ्नो रूप परिवर्तन गरेको छ । मौसमी इन्फ्लुएन्जा (एच१एन१) ले कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुबै फोक्सोमा खराबी ल्याउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा शेरबहादुर पुनले जानकारी दिए  । केही वर्षयता एच१एन१ का बिरामीको संख्या निरन्तर वृद्धि भइरहेको छ ।

‘‘ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, रुघाखोकी लागेमा तुरुन्त उपचार गराउनुपर्छ, अति आवश्यक काम नपरी भीडभाडमा नजाने, पोषिलो खानेकुरा खाने, सकेसम्म हात नमिलाउने, अङ्कमाल नगर्नेजस्ता सर्तकता अपनाउन आवश्यक छ,’’ उनले भने  रासस