माल्दिभ्सलाई ६–० ले हराउँदै नेपाल साफ यू १५ को सेमिफाइनलमा प्रवेश

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाडौं ,५ भदौ । नेपालले साफ यू १५ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको क्रृतिम मैदानमा जारी च्याम्पियनसिपमा आज माल्दिभ्सलाई ६–० ले हराउँदै विजयी सुरुआत गरेको हो । यो जितसँगै नेपाल अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको छ ।
यसअघि माल्दिभ्सलाई ९–० ले हराएको भारत पनि समूह ‘बी’ बाट अन्तिम चारमा पुगेको छ । नेपाल भारतबीच हुने खेलले समूहको विजेताको छिनोफाने लगाउनेछ । नेपालले सुरुआत देखि खेल नियन्त्रणमा राखेपनि खेलको छैटौं मिनेटमा भने माल्दिभ्सले गोल गर्ने अवसर पाएको थियो, तर टोली त्यसमा चुक्यो । सञ्जिव अर्यालले गोलकिपर विशाल सुनारलाई दिएको पासमा माल्दिभ्सका इब्राहिम इमरानले अवसर पाएपनि उनको फितलो प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो ।

ब्रिजेश चौधरीको हेड गोलमार्फत नेपालले १३ औं मिनेटमा खेलमा अग्रता लिएको थियो । दर्शन गुरुङको पासलाई करिब १५ यार्डबाट हेड ब्रिजेश माल्दिभ्सका गोलकिपर मोहम्मद रैफ अब्दुल्लार्लाइ नाघ्दै गोलमा परिणत भएको थियो । २१ औं मिनेटमा नेपालले गोलअन्तरलाई दोब्बर पारेको थियो । रञ्जन पुनको पासलाई पोस्टको दायाँ बाट दर्शनले पहिलो बारमा गोल गरे ।

घरेलु टोलीका लागि कप्तान रोशन राना मगरले पेनाल्टीमा तेस्रो गोल गरे । दर्शनले बल ड्राइभ गर्दा विपक्षी मोहम्मद फ्यान इमरानले ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई रोशनले गोल गरेका हुन् । उनले पोष्टको बायाँतर्फ गरेको प्रहारलाई विपक्षी गोलकिपरले रोक्ने प्रयास त गरे त सफल भएनन् ।

रञ्जन पुनको सट्टा ३२ औं मिनेटमा मैदान प्रवेश गरेका आकाशले आकाशले ४५ औं मिनेटमा चौथो गोल गरे । माल्दिभ्सका खेलाडकिो फितलो क्लियर आकाशको खुट्टामा परेपछि उनले फार पोस्टमा गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा माल्दिभ्सले गोल फर्काउने अवसर पायो तर सफल भएन । अहमेद रासलाह हमेदको प्रहार पोष्टमा लागेर बाहिरियो ।

पहिलो हाफमा ४–० ले अगाडि रहेको घरेलु टोलीले दोस्रो हाफको सुरुवातमा गोल गरेको थियो । ४७ औं मिनेटमा आकाशको प्रहार विपक्षी गोलकिपरले राकेपछि रिबाउन्डमा रोशनले गोल थपे । ५६ औं मिनेटमा माल्दिभ्सले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । दीपक भण्डाराले गोलकिपर विशाललाई दिएको ब्याक पास माल्दिभ्सका इब्राहिमले पाएपनि उनले बक्सबाट गरेको प्रहार टप कर्नर नजिकबाट बाहिरियो ।

ब्रिजेशले ७३ औं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि छैटौं गोल गरे । ब्रिजेशले २० यार्डबाट गरेको उत्कृष्ट प्राहर पोस्टको टप कर्नरबाट गोलमा परिणत भएको थियो । समूहको अन्तिम खेलमा बुधबार नेपालले भारतको सामना गर्नेछ । अर्को समूहबाट बंगलादेश र भुटान अन्तिम चारमा पुगिसकेका छन् ।