साफ यू–१८ च्याम्पियन नेपाली टोलि स्वदेश फर्कियो, विजेता खेलाडीलार्इ १ लाख दिने एन्फाकाे तयारी

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाण्डौ, १२ असोज । भुटानको थिम्पुमा सम्पन्न अठार बर्ष मुनीको साफ फुटबल प्रतियोगिता बिजेता नेपाली टोली आज स्वदेश फर्किएको छ ।
आज अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएको नेपाली टोलीलाई स्वागत तथा बधाई दिन अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा फुटबलप्रेमी समर्थकहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले नगद पुरस्कार दिने निश्चित भएपनि त्यसको औपचारिक निर्णय कार्यसमितिको बैठकबाट लिएपछि सार्वजनिक गर्ने भएको छ ।

खेलाडीको विमानस्थलमा भव्य स्वागत गरिएको छ ।विजेता खेलाडीले पहिलो खेल भुटानसंग हार्नुनै आफुहरुको जीत भएको बताएका छन् । सोही हारबाट सिक्दै थप रणनिति बनाउन सफल भएकाले बिजय प्राप्ती गरेको क्याप्टेन अर्पण कार्कीले बताए । यस्तै फुटबल प्रशिक्षक छिरिङ लोप्साङले पहिलो पटक कोच भएर अन्तर्राष्ट्रिय खेल खेलाउदा प्राप्त भएको बिजयले आफुलाई खुसी बनाएको प्रतिक्रिया दिए ।भुटानमा भएको खेलमा भारतलाई २–० ले हराउँदै नेपालले बिजेता टोलीमा नाम दर्ता गराएको थियो । दुबै गोल दिनेश हेन्जनले गरेका थिए । दुई वर्षअघि नेपालले घरेलु मैदानमा आयोजित १९ बर्ष मुनिको साफ फुटबलको पहिलो उपाधि जितेको थियो ।