काठमाडौँ, २६ असोज । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव आज परिवारले बुझ्ने भएको छ । सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन हुनुभएका गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले बुझ्न मानेका थिएनन् ।
गौचनका काका ओमकार गौचनका अनुसार महासंघ र गृहमन्त्रीको बुधबार भएको भेटमा गौचनलाई शहिद घोषणा गर्न गृहमन्त्री सकारात्मक देखिएको र आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव लैजाने आश्वासन दिएपछि शव बुझ्न लागिएको बताए । यस्तै, गृहमन्त्रीले व्यवसायीको सुरक्षा दिने समेत प्रतिबद्धता जनाएका थिए ।महासंघका एसोशियट सदस्य शिवहरि घिमिरेले मृतक गौचनको शवलाई श्रद्धाञ्जलिका लागि आज बिहान ९ बजेदेखि १२ बजेसम्म महासंघको कार्यालय बिजुलीबजारमा राखिएको छ । त्यसपछि थकाली सेवा समाज बालाजुमा पनि श्रद्धाञ्जलिका लागि राखिनेछ”– सदस्य घिमिरेले बताए ।अध्यक्ष गौचनको हत्याको विरोधमा आज एक घण्टा काठमाडौँका विभिन्न ठाउँमा चक्काजाम तथा भोलि मुख्य राजमार्गमा चक्काजाम गरिने महासंघले जनाएको छ । रासस