धनगढी,२२ पुस । एपीएफ धनगढीमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत धनगढी रंगशालामा शनिबार भएको खेलमा एपीएफले सहारा क्लब पोखरालाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । एपीएफलाई क्वार्टरफाइनलमा पुर्याउन गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट प्रदर्शन गरे ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो । एपीएफका अन्जन विष्ट, सुदिप शिखाकार, आदित्य चौधरी, राजु नगरकोटी र रन्जन विष्टले पेनाल्टीलाई गोलमा परिणत गरे ।
त्यस्तै सहाराका सुसान गुरुङ, विजय श्रेष्ठ, मान बहादुर जिसी र फुर्वा लामाले गोल गर्दा लक्ष्मण जिसीको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए । राजु नै खेलको ‘म्यान अफ दि म्याच’ घोषित हुँदै १० हजार रुपैंया प्राप्त गरे ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सहाराले पहिलो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । सहाराका विनोद गुरुङले १८ औं मिनेटमा प्रहार गरेको पेनाल्टी बाहिरिएको थियो । त्यसपछि दुवै टोलीले पाएका मौकाहरुलाई सदुयोग गर्न नसक्दा खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।