पोखरा, १७ माघ । पोखरा रङ्गशालामा जारी १६ औंँ आहारारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा मनाङ मस्र्याङ्गदी क्लबलाई एकका बिरुद्ध तीन गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ५३ औँ मिनेटमा नेपाल पुलिस क्लबका निरकुमार राईले पहिलो गोल गर्दै खेलको विजयी सुरुवात गरे । त्यसपछिे ५७ मिनेटमा पुलिसकै दिनेश राजवंशीले अर्को गोलको योगदान दिए ।
खेलको ७२ औँ मिनेटमा पुलिसकै सुमन लामाले अर्को गोलको योगदान दिए भने खेलको अन्त्यतिर ८२ औँ मिनेटमा मनाङ मस्र्याङ्गदीका विशाल राईले गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका सुमन लामा घोषित भए । नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले पहिलो मध्यान्हमा कुनै गोल हुन नसके पनि दोस्रो मध्यान्हमा खेलाडीबीचको तालमेल मिलेका कारण विजयी बन्न सकिएको बताए ।
मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले प्रतियोगितामा वर्क परमिटका कारण विदेशी खेलाडी समावेश गर्न नपाएको बताउँदै साना उमेरका खेलाडीका कारण पनि अपेक्षित नतिजा प्राप्त गर्न नसकेको बताउनुभयो । बुधबारको पहिलो सेमिफाइन खेल थ्रीस्टार क्लब र बंगलादेशको बलिन्धरा क्लबबीच हुने भएको आयोजकले जनाएको छ ।