पहिलो अभ्यास खेलमा नेपालको जित, युएई २५ रनले पराजित

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाडौं ,१७ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले पहिलो अभ्यास खेलमा युएई ‘ए’ लाई २५ रनले पराजित गरेको छ ।२ सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४८।४ ओभरमा २ सय २१ रनमै अलआउट हुन पुग्यो । घरेलु टोलीलाई रोक्न नेपालका लागि पारस खड्काले ५ विकेट लिँदै उत्कृष्ट बलिङ गरे । त्यस्तै दिपेन्द्र ऐरीले ३ महत्त्वपूर्ण विकेट लिँदै नेपालको जितको सम्भावना अझै बलियो बनाएका थिए । त्यस्तै करन केसी र ललित भण्डारीले पनि एकएक विकेट लिएका थिए ।

युएईले बिना क्षति ८७ बनाए पनि त्यसपछी दिपेन्द्र र पारसले युएईको टप अर्डर ध्वस्त बनाएका थिए । युएईका ओपनर फहाद नवाजले ३६ रन बनाएका थिए भने अर्का ओपनर चिराग सुरीले ४५ रनको योग्दान दिए । पारीको अन्तिममा निल लोबोले ५९ रनको राम्रो पारी खेल्दै युएईको पारी उकास्न खोजे पनि उनी सफल भएनन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९।३ ओभरमा अलआउट हुँदै २ सय ४६ रनको योगफल तयार पार्न सफल भएको थियो । नेपालका लागि ओपनर दिलिप नाथले टोलीलाई राम्रो सुरुवात दिलाए पनि मध्यपंक्ति ब्याटिङमा केहि कमजोर देखिएको थियो । दिलिपले ६० बलमा ६१ रनको राम्रो पारी खेलेका थिए । त्यस्तै अर्का ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल भने १८ रनमा आउट भएका थिए ।नेपालको एक समय ६ विकेटको क्षतिमा १ सय ३६ रन थियो ।