काठमाण्डौ,३ जेठ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डका आठ मध्ये चार बिधामा क्रिकेट उत्कृष्ट बनेको छ ।पारस खड्का उत्कृष्ट वर्षका उत्कृष्ट खेलाडी बन्दा बर्षको उत्कृष्ट प्रशिक्षक जगत टमाटा, बर्षका उत्कृष्ट युवा खेलाडी सन्दिप लामिछाने र स्पेशल अवार्ड करण केसीले पाए ।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा भएको समारोहमा वर्षको उत्कृष्ट पुरुष खेलाडी क्रिकेटका कप्तान पारस खड्काले हात पारे । उनले ब्याडमिन्टनका दिपेश धामी क्रिकेटकै सन्दिप लामिछाने जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टङकबहादुर कार्कीलाई पछि पारे । नेपाली क्रिकेटलाई सफलताको उचाईमा पुर्याउने नायक तथा पछिल्लो पटक एतिहासिक वन डे मान्यता दिलाएका कप्तान पारसले ब्यक्तिगत रुपमा पनि २०७४ सालमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
बर्षको उत्कृष्ट महिला खेलाडी ब्याटमिन्टनकी शोभा गौचन भइन । उनले बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी, र टेबलटेनिसकी नविता श्रेष्ठलाई पछि पारिन । उनले पाकिस्तानमा भएको अन्तराष्ट्रिय सिरीजमा मिक्स डबल्सको सहित यो बर्ष तीन उपाधि जितेकी थिइन् ।
बर्षका उत्कृष्ट युवा खेलाडी १७ वर्षीय लेग स्पिनर सन्दीप चुनिए । नेपाली क्रिकेट टोलीले एकदिवशीय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उपाधि जितेका हुन् । यस्तै उत्कृष्ट प्रशिक्षक नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा बने । उनले क्रिकेटकै विनोद दाश, फुटबलमा छिरीङ लोप्साङ गुरुङ, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठलाई पछि पारे । जगतको प्रशिक्षणमा नेपाल विश्वकप छनोटमा आठौ स्थानमा रहेको थियो । यस्तै विश्व क्रिकेट लिग डिभिजन २ मा उपविजेता बनेको थियो ।नेपाललाई डिभिजन टु बाट विश्वकप छनोटमा पुर्याउदा नायक बनेका करण केसीले स्पोर्टस अवार्डमा स्पेसल अवार्ड पाए ।

