धुर्मुस सुन्तलीले बनाउने भए गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

NewsBankNepal Entertainment/मनोरञ्जन , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Bank , Photo Gallery , Politics/राजनीति , Sports/खेलकुद , Uncategorised , ५ वर्ष अगाडि


काठमाडौँ । चितवनको भरतपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण हुने भएको छ ।

धुर्मुस सुन्तली फाउन्डेशनले बनाउने सो रङ्गशालाको नाम गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हुनेछ । यस्का लागी फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ ।

हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले स्तरीय रङ्गशाला मैदान नहुँदा नेपालमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुन नसेकेकोले यस्तो मैदानको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । “अहिले हामीकहाँ भएका मूलपानी र त्रिवि क्रिकेट मैदान काम चलाउ मात्रै छन्, त्यसैले यहाँ अन्तर्राष्ट्रियस्तरको रङ्गशाला आवश्यक छ, भएकाको पनि स्तरोन्नति आवश्यक छ”, उहाँले भन्नुभयो ।

खेल र राजनीतिको सम्बन्ध अन्योन्याश्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले तत्कालीन अवस्थामा खेल जितेर लिगलिगे दौड राज हुने परम्पराको स्मरण गर्नुभयो । नेपाल अब समृद्धितर्फ अघि बढिसकेको कुरा आफूले अन्तर्राष्ट्रिय समुदायलाई समेत बताएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको अभियान अब साकार हुँदै जाने बताउनुभयो ।

उहाँले ठेकेदार भागेकाले मेलम्ची समयमै काठमाडौँ ल्याउन नसकिएको बताउँदै ठेकेदार कम्पनीसँग केही दिनभित्रै वार्ता हुने र मेलम्चीको काम अगाडि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकार वार्ता र संवादबाटै अगाडि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र कमजोर भयो भनेर हल्ला फिँजाउनु दुर्भाग्य भएको बताउनुभयो ।

युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा सुनारले नेपाली खेलाडीले प्रतिकूलताका बाबजूद अन्तर्राष्ट्रिय सफलता हात पारिरहनु सराहनीय काम हो भन्नुभयो । उहाँले खेल क्षेत्रको विकासविना मुलुकको समृद्धि हासिल हुन नसक्ने बताउँदै यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर मुलुकको सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने कार्यविधि ल्याएको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सरकारको एक महानगरमा एक सुविधासम्पन्न रङ्गशाला बनाउने कार्यक्रमअनुसार फाउण्डेशनलाई जग्गा प्राप्त गर्न चुनौती नहोस् भनेर जग्गा दिन तयार भएको बताउनुभयो । उहाँले दुई वर्षभित्र रङ्गशाला तयार गरेर पहिलो खेल भारत र पाकिस्तानबीच गराउनेसमेत बताउनुभयो