बङ्गलादेशमा जारी साफ यु–१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।
बङ्गलादेशका ढाकामा आज भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो । जितसँगै भारत भने प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतको जितमा प्रियङका देवीले गोल गरिन् । उनले खेलको ६७ औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो ।
यता पराजयसँगै नेपालको फाइनलमा प्रवेश गर्नेे सम्भावना अर्को खेलको नतिजालाई कुर्नुपर्ने भएको छ । फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग केवल बराबरीको आवश्कता रहेको थियो । अब नेपालले फाइनल प्रवेशका लागि बङ्गलादेश र श्रीलङ्काबीच हुने खेलको नजिता पर्खनुपर्नेछ ।
बङ्गलादेशले श्रीलङ्कामाथि जित वा बराबरिकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ भने बङ्गलादेशले पराजय भोगे नेपाल फाइनलमा प्रवेश गर्ने सम्भावना रहनेछ ।
भारतले चारमध्ये तीन खेल जित्दै नौ अङ्क जोडेको छ भने समान खेल खेलेको नेपालले दुई खेलमा जित, एकमा बराबरी र एक खेल हारेको थियो । नेपालको सात अङ्क रहेको छ ।