भारतले जित्यो यु–१९ साफ च्याम्पियनसिपको उपाधि

NewsBankNepal Sports/खेलकुद , १ वर्ष अगाडि

काठमाडाैं । यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार भएको फाइनलमा पाकिस्तानलाई हराउँदै भारतले ३–० गोल अन्तरले उपाधि उचालेको हो ।  डिफेन्डिङ च्याम्पियन भारतले यो सहित तेस्रो पटक यू–१९ साप च्याम्पियनसिप जितेको हो ।

खेलको ६३ मिनेटसम्म भारतलाई रोकेको पाकिस्तानले त्यसपछि तीन गोल ब्यहोर्न पुग्यो । खेलको ६४ औं मिनेटमा किपगेनले गोल गर्दै भारतलाई अग्रता दिलाए । डिबक्स बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत बनेको थियो ।

खेलको ८५ औं मिनेटमा किपगेनले फ्रिकिकमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई जितको नजिक पुर्याएका थिए ।

इन्जुरी समयमा उनै किपगेनको क्रसमा डिबक्सभित्र रहेका गोगमसर गोयारीले हेडमार्फत गोल गर्दै भारतलाई ३–० को जित दिलाए । 

सेमिफाइनलमा सडनडेथमा जित निकाल्दै दुवै टिम फाइनल पुगेका थिए । तर फाइनलमा पाकिस्तानले भारतलाई कुनै चुनौती पेश गर्न भने सकेन ।