नेपाल यू-२० च्याम्पियनसिपको फाइनलमा

Bhim Thapa Sports/खेलकुद , ३ हप्ता अगाडि

ललितपुर । नेपालले भुटानलाई टाई ब्रेकरमा हराउँदै नेपाल यू-२० साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले आइतबार भुटानलाई ४-१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलको ९० मिनेट १-१ को बराबरीमा समाप्त भएपछि सिधै पेनाल्टी सुट आउटमा गएको हो । भुटानले ५६ औं मिनेटमा अग्रता लिएको थियो । पेनाल्टी एरियाबाहिरबाट जेत्सुन दोर्जेले शक्तिशाली प्रहार गर्दै सुन्दर गोल गरेका हुन् । नेपाली गोलरक्षक जियारत सेखले भुटानका दुई प्रहार जोगाए र आफैं निर्णायक गोल गरेका हुन् ।

नेपालले ७८ औं मिनेटमा बराबरी गोल फर्काउन सफल रह्यो । लछु थापाको लामो पासलाई हेड गर्दै नीराजन धामीले गोल गरेका थिए । त्यसअगाडि भुटानका किङजाङ तेन्जिन दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि टिम १० खेलाडीमा सीमित भएको थियो ।

नेपाल समूह ‘ए’ विजेताका रूपमा सेमिफाइनल पुगेको हो । यस्तै भुटान भने समूह ‘बी’ विजेता हुँदै अन्तिम चारमा पुगेको हो । अब नेपालले दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ। त्यसमा डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेश सोमबार भिड्दै छन् ।साभार कान्तिपुर