पारा तेक्वान्दोमा पलेशाले दिलाइन् नेपाललाई कास्य पदक

Bhim Thapa Sports/खेलकुद , २ हप्ता अगाडि

काठमाडाैं । पारा तेक्वान्दोमा नेपालकी पलेशा गोवर्धनले ऐतिहासिक पदक जितेकी छन् ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी हुन् ।

पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०-८ ले पराजित भएकी थिइन् ।

दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन्  । प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालबाट गोवधर्नलाई बधाई दिएका हुन् ।