नयाँ दिल्ली । भारत र पाकिस्तानबीच पछिल्लो समय बढ्दो तनावको बीचमा भारतले पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको आधिकारिक युट्युब च्यानल र इन्स्टाग्राम खाता ब्लक गरेको छ। साथै, पाकिस्तानका चर्चित क्रिकेटरहरू—बाबर आजम, हारिस रऊफ, मोहम्मद रिजवान र शाहीन अफरीदी—का इन्स्टाग्राम खाताहरू पनि भारतमा बन्द गरिएको छ।
यसबीच, भारतको प्रमुख विपक्षी दल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले कांग्रेस वर्किङ कमिटीको बैठकमा सरकारको रणनीति स्पष्ट नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले भने, “पूरा विपक्ष वर्तमान परिस्थितिमा सरकारसँग उभिएको छ, तर हमलापछि सरकारले लिएको धारणा र योजना अझै स्पष्ट देखिएको छैन।”
यता पाकिस्तानले दुई दिनपछि वाघा बोर्डर पुनः खोलेको छ। अप्रिल ३० देखि बन्द गरिएको सीमा आज मे २ मा आंशिक रूपमा पुनः खोलिएको हो। यसपछि भारतमा अड्किएका २१ जना पाकिस्तानी नागरिकलाई स्वदेश फर्किन अनुमति दिइएको छ। यी सबै जना वीजा नवीकरण रोकिएपछि भारतीय सीमा क्षेत्रमा फसेका थिए।
अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगामस्थित बायसरन उपत्यकामा भएको आतङ्कवादी आक्रमणमा परी २६ जना पर्यटकको मृत्यु भएको थियो। यस घटनालाई भारत-पाकिस्तानबीच हालको तनावको मुख्य कारणका रूपमा हेरिएको छ।