काठमाण्डौ ।चलचित्र विकास बोर्डले आगामी साउन १ बाट मुलुकका सबै जसो सिनेमा हलमा बक्स अफिस प्रणाली लागू गर्ने घोषणा गरेको छ ।सो प्रणाली नजोड्ने सिनेमा हललाई कारबाहीको चेतावनीसमेत दिएको छ ।बोर्डले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आगामी सय दिनभित्र गर्नैपर्ने काममा चलचित्र घरहरूका चलचित्र बक्स अफिस पनि लागू गर्ने उल्लेख गरिएको छ ।
त्यसका लागि पनि सञ्चार मन्त्रालय आफैं यतिबेला लागि परेको हो । पूर्व घोषित कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यकामा १० वैशाखबाट परीक्षणका रूपमा बक्स अफिस प्रणाली लागू गरिएको छ । काठमाडौं उपत्यकाका चार ओटा सिनेमा हल कम्पनीबाहेक अरूले यो प्रणाली धमाधम जोडेको बोर्डले जनाएको छ ।
चलचित्र विकास बोर्डका अनुसार काठमाडौंका गुण सिनेमा ग्वार्को, अष्टनाराण सिनेमा बालाजु बाइपास र क्यूएफएक्सअन्तर्गतका जय नेपाल, कुमारी, सिभिल मल, लबिम मल र छाया सेन्टरका हलमा बक्स अफिस प्रणाली लागू गर्न सम्बन्धित सञ्चालकहरू मानिरहेका छैनन् ।तोकिएको समयभित्र यो प्रणाली लागू नगर्ने सिनेमा हललाई अब सञ्चार मन्त्रालयले नै एक्सन लिने विज्ञप्तिमा जनाइएको छ ।

