काठमाण्डौ,६ पुस । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि मुलुकले जनप्रतिनिधि पाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीको दूरी भने ह्वात्तै बढाइदिएको छ ।एमालेले निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेलगत्तै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई बिनाविभागीय बनाएपछि माओवादी केन्द्रसँग थप नजिकिएका ओली र देउवाबीच गत ५ मंसिरयता एकपटक पनि संवाद भएको छैन ।
प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएलगत्तै राष्ट्रिय सभा निर्वाचनलाई लिएर फरक धारणा राख्दै आएका यी दुई नेताका चुनावी प्रचारसमेत आरोप प्रत्यारोपमै बित्यो ।देउवाले तत्काल सत्ता हस्तान्तरण गर्नुपर्ने ओली अडान र राष्ट्रिय सभा निर्वाचन नगरी सत्ता हस्तान्तरण नगर्ने देउवा अडानका कारण पछिल्ला दिन यी दुई नेताबीचको दूरी झन बढेको छ ।
सरकार राष्ट्रिय सभा निर्वाचनको कानुनी जटिलता फुकाएर निर्वाचन सम्पन्न भएपछि मात्रै संवैधानिक व्यवस्थाअनुसार सत्ता हस्तान्तरण गर्ने तयारीमा छ । तर, एमाले र माओवादी केन्द्र भने देउवालाई आफूहरूको सहमतिबिना अध्यादेश ल्याउने अधिकार नभएको बताइरहेका छन् ।
प्रदेश प्रमुख नियुक्ति र राष्ट्रिय सभा निर्वाचन अध्यादेशका विषयमा पछिल्लो समय सरकारले संवैधानिक बाटोअनुसार अघि बढेको बताउँदै आएको आजको राजधानी दैनिकमा खबर छ ।स्थानीय तहको निर्वाचन हुँदा आमनेसामने भएका उनीहरू प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको संघारदेखि नै दूरीमा रहँदै आएका छन् ।
गत ५ मंसिरमा बालुवाटारमा प्रधानमन्त्री देउवा र ओलीबीच औपचारिक संवाद भएको थियो भने त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको श्रद्धाञ्जलीका लागि लाजिम्पाटमा देउवा–ओलबीच भेटघाट भएको थियो । सो भेटमा भने दुवै नेताबीच संवाद भएन ।यस बीचमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भने भेटघाट र संवाद भएको छ । प्रधानमन्त्री देउवाले केही दिनअघि मात्रै माओवादी अध्यक्ष दाहाललाई बालुवाटार बोलाएर पछिल्लो राजनीतिक घटनाक्रमबारे संवाद गरेका थिए ।
प्रधानमन्त्री देउवाले सो भेटमा राष्ट्रिय सभा निर्वाचनका लागि संवैधानिक बाटोबाट नै सरकारले राष्ट्रपतिसामु अध्यादेश स्वीकृतिका लागि पठाएको र सो स्वीकृत भएर राष्ट्रिय सभा निर्वाचनको कानुनी बाटो फुकाएर सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका थिए ।