आज तेस्रो अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाईयो,प्रधानमन्त्री र मन्त्रीहरुले पनि गरे योग

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,७ असार । तेस्रो अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी नेपालमा पनि आज मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आव्हानमा प्रत्येक बर्षको जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

योग गरौँ निरोग बनौँ भन्ने नाराका साथ नेपालमा पनि आज बिशेष कार्यक्रमको आयोजना गरिएको छ । नेपाल योग एसोसिएसन र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा विहान ५ बजेदेखि ७ बजेसम्म काठमाडौंको भृकुटीमण्डपमा योगाभ्यास कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले योग गर्दै योग दिवसको शुभारम्भ गरेका थिए। सो अवसरमा प्रधानमन्त्री देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिए।

योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई विद्यालय तहदेखि अभ्यास गराउनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले आचार्य बालकृष्णले लेखेका ‘दैनन्दिन योगाभ्यास’ र नेपालका लागि भारतीय दूतावासले प्रकाशन गरेको ‘योग सन्देश’ पुस्तकको विमोचन पनि गरेका थिए । कार्यक्रममा सहभागीले शान्ति, आनन्द र स्वस्थ्यका लागि नियमित योग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

yog1

कार्यक्रममा पतञ्जलि योग समिति, नेपालका प्रमुख योगगुरु लवदेव मिश्रले योग अभ्यास गराएका थिए। छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएपछि हरेक बर्ष जुन २१ लाई विश्वभर विश्व योग दिवस मनाउन थालिएको हो ।