लहान, ९ असोज । मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । मधेश आन्दोलनकै क्रममा विभिन्न पाँच वटा मधेश केन्द्रित दल मिलेर बनेको राजपा मधेश आन्दोलनकै उद्गमस्थल सिरहामा नराम्रोसँग पराजित भएपछि नेता कार्यकर्तामा निराशा छाएको हो । राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादव, राजपाका नेता रामुकमार मण्डल लगायतका केन्द्रीय नेताको गृह जिल्लासमेत रहेको सिरहामा १७ स्थानीय तहमध्ये एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता मात्र होइन, सर्वसाधारणसमेत आश्चर्य चकित भएका छन् ।