प्रमुख पाँच दल बैठक निष्कर्षविहिन, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभए सम्म काँग्रेसले सत्ता नछाड्ने

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,७ पुस । राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेशको विषयमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नु भएको प्रमुख पाँच दलको बैठक विनानिष्कर्ष टुंगिएको छ । अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण नगरी सरकार गठन प्रक्रिया अघि नबढने काँग्रेसको अडान र स्पष्ट बहुमत आएपछि सरकार गठनमा अवरोध गर्न नहुने एमाले–माओवादी केन्द्रले आ–आफ्नै अडान लिएपछि बैठक विना निष्कर्ष सकिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार ) विहान बसेको बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिबाट अध्यादेश फिर्ता नभई नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन नसकिने बताउनु भएको थियो । प्रतिनिधिसभालाई पूर्णता दिएर नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन समेत राष्ट्रपतिले अध्यादेश रोकेर राख्न नहुनेतर्फ विपक्ष दलहरुको गम्भिर ध्यानाकर्षण गराइएको सत्तारुढ काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनु भयो । काँग्रेसले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभई नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन नमिल्ने तर्क गर्दै आएको छ ।

यता बामगठबन्धनले भने संविधान, कानुन र जनादेशलाई आधार मानेर सरकार गठन प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री देउवालाई पुनः दवाव दिएको थियो । संविधान, कानुन र प्राप्त जनादेशको आधारमा सरकार गठन प्रक्रियामा कुनै पनि खालको अवरोध नगर्न सत्तारुढ काँग्रेसलाई आग्रह गरिएको माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

बैठकमा सहभागी हुनु भएका संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले ३ ठूला दललाई मिलेर अघि बढन सुझाव दिनु भएको थियो । बाम गठबन्धनले प्रधानमन्त्री देउवाले अन्य दलसँग सहमति समेत नगरी राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश ल्याएकोमा आपत्ति जनाउँदै आएको छ । गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रले सरकारले संविधान विपरित एकल संक्रमणीय प्रणालीको आधारमा राष्ट्रिय सभाको निर्वाचन गर्ने प्रावधानसहितको अध्यादेश ल्याएको आरोप लगाउँदै त्यसलाई प्रमाणीकरण नगर्न राष्ट्रपति विद्या भण्डारीको ध्यानाकर्षण समेत गराउँदै आएको छ ।