रविन्द्र मिश्र नेतृत्वको विवेकशील पार्टीको नाम परिवर्तन

Bhim Thapa Politics/राजनीति , ७ वर्ष अगाडि

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझाले पार्टीको नाम परिवर्तन गरेको छ । काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको पूर्ण वैठकले पार्टीको नाम परिवर्तन गर्दे साझा विवेकशील पार्टी राख्ने निर्णय गरेको हो ।

तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । तर, उज्वल थापा नेतृत्वको समूह फुटेर विवेकशील नेपाल दल बनाएको छ । नामका बारेमा जनमानसमा भ्रम उत्पन्न हुने देखिएपछि पार्टीको नाम परिवर्तन गरेको सो पार्टीले शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दे जानकारी गराएको हो ।

वैशाख ११, १२ र १३ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्दे साझा विवेकशीलले जेठको १ गतेदेखि कम्तिमा तीन महिना पार्टी निर्माणका लागी देशको यात्रामा निस्कने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचन गैर दलीय बन्नु पर्छ भन्ने धारणालाई प्रमुख एजेण्डा बनाउने सो पार्टीले जनाएको छ ।

पत्रकार सम्मेलनमा साझा विवेकशीलका संयोजक रवीन्द्र मिश्रले दुईतिहाई बहुमतसहितको शक्तिशाली सरकारप्रति आम नागरिकमा चरम निराशा उत्पन्न भएको बताउनुभयो । राज्यको हरेक निकायमा राजनीतिकरण, भ्रष्टाचार र वेथितिले मातृभूमीको स्वाभिमान र संवृद्धिको आशामाथि कुठाराघात गरिदिएको उहाले बताउनुभयो ।

केन्द्रिय समिति बैठकले कोष संकलनका अन्य अभियान कायम राख्ने निर्णण् गरेको प्रवक्ता डा सूर्यराज आचार्यले जानकारी दिनुभयो । पार्टीले आउँदा दिनहरूमा आफ्ना गतिविधिलाई मूलत भ्रष्टाचार विरोधी अभियानमा केन्द्रीत गर्ने उहाले बताउनुभयो ।

साझा विवेकशीलले नीतिगत प्राथमिकता सहित वृहत क्षेत्रगत नीतिहरू तय गरेको र तीन महिने यात्राको क्रममा प्राप्त सुझावहरू पनि समेटेर विस्तृत कार्यक्रमहरू तर्जुमा गरिने जानकारी पनि गराएको छ ।