प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य, शुक्रबार फर्कदै

Bhim Thapa Politics/राजनीति , ६ वर्ष अगाडि

काठमाडाैं,१६ भदाै ।उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली २० गते शुक्रबार स्वदेश फर्किने भएका छन्।

नेकपा संसदीय दलका कार्यवाहक नेतासमेत रहेका नेकपा नेता सुवास नेम्वाङलाई आइतबार साँझ फोन गरेर प्रधानमन्त्री ओलीले आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिनसमेत भनेको नेम्बाङले बताए। सातौं चरणको उपचार प्रक्रिया सकिएपछि उनी शुक्रबार स्वदेश फर्कन लागेका हुन्।

आइतबार साँझ फोन सम्पर्क गर्दा प्रधानमन्त्रीले आफू ठीकठाक भएको र निर्धारित कार्यक्रम अनुसार २० गते फर्कने जानकारी गराएको नेम्बाङको भनाई छ।

संसदीय काम कारवाही र विधेयकहरुको विषयमा प्रतिपक्षी दल कांग्रेससंग कुराकानी भइरहेको बारे आफूले जानकारी गराएको नेम्वाङले उल्लेख गरे। प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलिमिलाप विधेयकको बारेमा चासो व्यक्त गरेका थिए। नेम्बाङले तीसहित अन्य विधेयकहरु पनि सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाइएको जानकारी गराएका थिए।

भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ।