काठमाडौँ, २४ साउन । नेपाली काँग्रेसले तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचनका लागि साउन २९ गतेभित्र उम्मेदवारको टुंगो लगाई केन्द्रमा पठाउन जिल्ला पार्टी निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रदेश नं २ मा आगामी असोज २ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तय गरिसक्न पार्टीका स्थानीय संयन्त्रलाई निर्देशन दिएको हो ।
काँग्रेसले यसअघिको पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसारको परिपत्रबमोजिम प्रक्रिया पूरा गरी टुङ्गो लगाएर साउन २९ गतेभित्र उम्मेदवारको नामावली केन्द्रमा पठाउन प्रदेश नं २ का आठवटै जिल्ला पार्टी निकायलाई निर्देशन दिएको पार्टी कार्यालयले जनाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तह निर्वाचन तथा समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भमा छलफल भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई स्थायी गर्नका लागि शिक्षा सेवा आयोगले लिने परीक्षामा सामेल हुन पाउने र आयोगको परिणामपछि पनि गोल्डेन ह्याण्डसेक पाउने व्यवस्था कायम गर्न सरकारसँग माग गरेको छ ।

