उपेन्द्र यादवलाई सरकारको तातो लाग्दै

arjun Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाण्डौ,१४ माघ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले नयाँ सरकारमा सहभागी हुने संकेत गरेको छ । अध्यक्ष यादवले एमाले संविधान संशोधन गर्न तयार भए आफ्नो पार्टी बामगठबन्धन नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताउनु भएको हो । उहाँले संविधान त्रुटिपूर्ण रहेकाले नयाँ सरकार गठन प्रक्रियामा ढिलाई भईरहेको दावी समेत गर्नु भयो । आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आफ्नो पार्टीलाई सरकारमा सहभागी गराउने हो भने संविधान संशोधन गर्ने स्पष्ट खाका लिएर आउन पनि एमाले नेतृत्वसँग आग्रह गर्नु भयो । उहाँले संविधान संशोधन गर्ने मुद्दा राष्ट्रिय मुद्दा बनेको र त्यसलाई सम्बोधन नगरी आफूहरु सरकारमा सहभागी हुन नमिल्ने पार्टीको अडान पनि दोहो¥याउनु भयो ।

अध्यक्ष यादवले प्रदेश नम्बर २ मा आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दावी पनि गर्नु भयो । उहाँले प्रदेश नम्बर २ मा सरकार गठनका लागि राष्ट्रिय जनता पार्टी, नेपाललगायतका दलहरुसँग छलफल भईरहेको जानकारी पनि दिनु भयो । अध्यक्ष यादवले आफ्नो पार्टी नेतृत्वको नयाँ सरकारले प्रदेश नम्बर २ को आर्थिक विकासमा केन्द्रित हुने योजना पनि सुनाउनु भयो । प्रदेश नम्बर २ को बेरोजगारी समस्या समाधान गरी गरिवी घटाउँदै लैजानुपर्नेमा उहाँको मुख्य जोड छ ।अध्यक्ष यादवले प्रदेश नम्बर २ लाई सिंहदरबारले सधैं उपेक्षा गर्नेगरेको गुनासो पनि गर्नु भयो ।