महोत्तरी,२५ माघ । महोत्तरीमा केही समययता नेपाली नक्कली नोटको विगविगि बढेको छ । बैंक श्रोतका अनुसार सुन ब्यवसायी , जग्गा कारोवारी र ब्यापारीले जम्मा गर्न ल्याएका रुपैयाँका गड्डीबाट नक्कली फेला पर्ने गरेका छन् । यस्ता नोटबारे वित्तिय कारोवार गर्ने निकायलेसमेत पुष्टि गरेका छन् । वरामद नक्कली नोटमा सेक्युरिटी थ्रेड बाहिरबाट टासेको, सेतो भागमा वाटर प्रिन्ट नभएको, अधिकांशमा एउटै नम्बर भएको पाईएको छ ।
जलेश्वरस्थित राष्ट्र बाणिजय बैंकका अनुसार विहीवार जलेश्वर भन्सार कार्यालयले जम्मा गर्न ल्याएको राजस्वका ठेलीबाट १ हजारको एक थान नक्कली नोट फेला परेको थियो । बैंकका क्यासियर शुसीलकुमार साहले यसरी फेला पर्ने नक्कलीमा अधिकांश हजारका नोट पाइएको बताए । त्यसपछि ५ सय र १ सयका नोटहरु पनि छन् ।बर्दिवासस्थित राष्ट्र वाणिज्य बैंकको शाखाले ग्राहकलाई भुक्तानी गरेको नोटमा पनि नक्कली फेला परेको थियो । सक्कली जस्ता देखिने जाली नोटबाट बैंकका कर्मचारी र लेखापालसमेत झुक्किने गरेका छन ।

