मेलम्ची, २९ माघ । सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ ।
भूकम्पअघि तातोपानी नाका सञ्चालन हुँदा सुन तस्करको गिरोह जिल्लामा सक्रिय थियो । नेपाली र चिनियाँ नागरिकको मिलेमतोमा नेपाल हुँदै तेस्रो मुलुकमा अवैध सुन ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रायः तस्करले तरकारीको बोरा, गाडीको टायर तथा भरिया प्रयोग गरेर सुन तस्करी गर्ने गरेका छन् । सँधै सुन बोक्ने भरिया मात्र पक्राउ पर्ने गरेका छन् । सुन तस्करको गिरोह उम्कने गरेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय चौताराको तथ्याङ्कअनुुसार २०६९ साल पुस १ गते बेवारिसे अवस्थामा सशस्त्र प्रहरी बल तातोपानीले तीन किलोग्राम सुन बरामद गरेको थियो । सीमा प्रहरी चौकी कोदारी, इलाका प्रहरी कार्यालय बाह्रबिसे तथा सशस्त्र प्रहरी बलले २०७० सालमा मात्रै लुकाई–छिपाई काठमाडाँै लैजाँदै गर्दा तातोपानी तथा बाह्रबिसे क्षेत्रबाट ३२ किलोग्राम पाँच तोला ६४ लाल सुनसहित १० जनालाई पक्राउ गरेको थियो ।
पछिल्लो छ वर्षमध्ये २०७१ सालमा सबैभन्दा बढी सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो । विसं २०७१ मा प्रहरीले ६५ किलोग्राम छ तोला २९ लालसहित ११ जनालाई पक्राउ गरेको थियो । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द भयने । लामो समय यातायातसमेत सञ्चालनमा नआएकाले उक्त क्षेत्र सुनसान बन्यो । तातोपानी नाका बन्द भएपछि सुन तस्करको बाटो परिवर्तन गरेका छन् । तातोपानी नाका बन्द भएसँगै तस्करले वैकल्पिक बाटो रोजेका हुन् ।