राष्ट्रपति पदमा भण्डारी र राईको उम्मेदवारी,दुवै उम्मेदवार भोजपुरवासी

arjun Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौँ, २३ फागुन । मुलुकमा संघीय संसद्को गठनपछि राष्ट्रपति पदका लागि हुन लागेको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन गर्ने मिति यही फागुन २९ गते तोकिसकेको छ । निर्वाचनका लागि निर्धारित कार्यतालिका अनुसार आज राष्ट्रपति भण्डारी र नेत्री राईले मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उहाँहरु दुवैले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी मनोनयन दर्ता गराउनुभएको हो । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँबानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि राष्ट्रपति पदका लागि यो तेस्रो पटक निर्वाचन हुन लागेको हो । यसअघि डा रामवरण यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भइसक्नुभएको छ भने हाल दोस्रो राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारी पदमा आसीन हुनुहुन्छ ।

नेकपा एमाले ले मंगलबार राति राष्ट्रपति भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपति उम्म्मेदवार बनाउने निर्णय गरेको थियो भने नेत्री राईलाई काँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रपतिका दुवै उम्मेदवारको गृह जिल्ला भोजपुर हो । राष्ट्रपति भण्डारी विसं २०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङ गाउँमा जन्मनुभएको हो । नेत्री राईको जन्म २००६ साल असार १८ गते भोजपुरको सिनामकमा भएको हो ।

राष्ट्रपति भण्डारी एमालेका पूर्व केन्द्रीय उपाध्यक्ष हुनाका साथै एमालेका तत्कालीन महासचिव स्व मदन भण्डारीकी धर्मपत्नी हुनुहुन्छ । काँग्रेस पूर्व केन्द्रीय सदस्य र पूर्व सभासद् नेत्री राई शहीद दिवानसिंह राईकी सुपुत्री हुनुहुन्छ ।

आयोगका अनुसार निर्वाचनका लागि फागुन २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र फागुन २९ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने निर्वाचन तालिका छ ।

नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन गइरहेको छ । उम्मेदवारी मनोनयन दर्तासँगै आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।