काठमाण्डौ,२४ फागुन । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी विश्वका धनी व्यक्तिको १५६१औं सूचीमा परेका छन् । अघिल्लोपटक उनी १५६३औं सूचीमा रहेका थिए । उनको सम्पत्ति गत वर्षको भन्दा १९ अर्ब रुपैयाँले बढेको फोब्सले सार्वजनिक गरेको २०१८ को सूचीमा उल्लेख छ ।
सो सूचीअनुसार हाल चौधरीसँग १ अर्ब ५० करोड अमेरिकी डलर सम्पत्ति छ । नेपाली रुपैयाँमा रूपान्तरण गर्दा यो रकम १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी हुन्छ । फोब्सको सन् २०१७ को सूचीअनुसार चौधरीसँग १ अर्ब ३१ करोड अमेरिकी डलरबराबरको सम्पत्ति थियो ।
अर्बपतिहरूको सूची सार्वजनिक गर्ने पत्रिका फोब्सले सार्वजनिक गरेको यस वर्षका अर्बपतिहरूको सूचीको पहिलो स्थानमा एमाजोनका संस्थापक तथा प्रमुख कार्यकारी जेफ बेजोस रहेका छन् । बेजोसको सम्पत्तिमा उल्लेख्य रूपमा वृद्धि भएर ११२ बिलियन डलर पुगेको छ ।
उनको सम्पत्ति सन् २०१७ को भन्दा ३९ बिलियनले वृद्धि भएको हो । यो कुनै पनि अर्बपतिको सम्पत्तिमा एक वर्षमा भएको ठूलो वृद्धि हो । उनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै अर्बपतिको सूचीको पहिलो स्थानमा आएका हुन् । गेट्स दोस्रो नम्बरमा रहेका छन् । उनको सम्पत्ति गत वर्षको भन्दा ४ बिलियनले वृद्धि भई ९० बिलियन डलर पुगेको छ ।