धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाइने

Bhim Thapa Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडौँ, ९ वैशाख ।शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले संविधानविपरीत धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाइने बताउनुभएको छ ।

नेपाल ख्रिस्टीयन महासङ्घले पुनरुत्थान (इस्टर) पर्वका अवसरमा आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सबैले आ–आफ्ना धर्म मान्न पाउने स्वतन्त्रता भए पनि धर्मका नाममा केही तत्व सल्बलाइरहेको बताउनुभयो ।

“धर्मका नाममा राजनीति गर्नेलाई पाखा लगाउनुपर्छ, संविधानका दृष्टिमा सबै जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका मानिस समान हुन्छन्, धर्मका नाममा राजनीति गरेर कसैले अस्थिरता निम्त्याउन नहुने समेत बताउनु भयाे ।

विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्ष नहुने भएकाले नेपाली काङ्ग्रेसलाई पनि रचनात्मक सहयोग गर्न उहाँले आह्वान गर्नुभयो ।

काङ्ग्रेस नेता रामहरि खतिवडाले दुई तिहाइका सरकारले दम्भ देखाउने र पूरा हुन नसक्ने सपना बाँडेर समय खर्च गरिरहेको आरोप लगाउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झक्कुप्रसाद सुवेदीले सरकारले काम गर्ने बाटो समाएकाले उपलब्धिको मूल्याङ्कन गर्न केही समय कुर्नुपर्ने बताउनुभयो । कार्यक्रममा महासङ्घका अध्यक्ष सिवी गहतराज लगायतले सरकारको दृष्टिमा सबै धर्म समान हुनुपर्ने बताउनु भयाे ।