सुनको भाउ उकालो लाग्दै :एक तोलाकाे मूल्य ७३ हजार ५ सय

Bhim Thapa Business/अर्थ ब्यापार , ५ वर्ष अगाडि

काठमाडाैं,१८ भदाै ।पछिल्लो दुई महिनादेखि निकै उतारचढावबीच कारोबार हुँदै आएको सुनको मूल्य आज बुधबार प्रतितोलामा हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार ७२ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज (बुधबार) हजार रुपैयाँ बढेको हो ।

महासंघका अनुसार तेजाबी सुन पनि प्रतितोला हजार रुपैयाँले बढेको छ । मंगलबार ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार भने प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको भाउ आकासिने क्रम पनि रोकिएको छैन । महासंघका अनुसार मंगलबार ८ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी बुधबार भने ९ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । यसको मतलब हिजोको तुलनामा आज चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले बढेको हो ।

सुनको मूल्यमा उतारचढाव देखिएसँगै खपत पनि घटेको छ । चाडबाड आगमनसँगै सुनचाँदीको भाउ बढिरहँदा उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने बाध्यता छ ।