पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यावसायिक उडान

NewsBankNepal Business/अर्थ ब्यापार , ३ वर्ष अगाडि

कास्की । भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको पोखरा विमानस्थलले जनाएको छ । गत पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पोखरा विमानस्थलको उद्घाटन गरिएको थियो । पोखराबाट थिम्पु जान लागेका पर्यटकलाई पोखरा विमानस्थलमा खादा तथा माला लगाएर बिदाइ गरिएको थियो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायीलगायतले यात्रुको बिदाइ गर्नुभएको हो । पोखरा विमानस्थलका प्रमुख देवचन्द्रलाल कर्णले अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गरेको बताउनुभयो ।

भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । जहाज भारतीय एजेन्सीले नै चार्टर गरेका थिए । उनीहरू तीन दिन पोखरामा बसेर प्याराग्लाइडिङलगायत गतिविधिमा सामेल भएका थिए । काठमाडौँबाट उनीहरू आठ हेलिकोप्टरमा पोखरा आएका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमितरुपमा अन्तर्राष्ट्रिय उडान अझै हुनसकेको छैन । विमानस्थल आन्तरिक उडानमा सीमित छ । यसअघि चीनको सिचुआन एयरलाइन्सले पोखरामा पहिलो चार्टर उडान गरेको थियो ।