काठमाडौँ, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलन एवं महाधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि संघका उपाध्यक्ष भवन भट्ट र सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गरेका छन ।
गुरुङले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिबारदेखि शुरु हुन लागेको संघको महाधिवेशनमा वर्तमान अध्यक्ष शेष घलेकी पत्नीसमेत रहनुभएकी गुरुङले उम्मेदवारी घोषणा गरेकी हुन ।
उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले ‘नेपालीका लागि नेपाली’ भन्ने पवित्र उद्देश्यका साथ शुरु भएको संघमा आफूले गैरआवासीय नेपालीको माग र अपेक्षालाई पूरा गर्ने र महिला सशक्तीकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्ने विश्वास व्यक्त गरिन ।
यसैबीच, अध्यक्षका अर्का प्रतिस्पर्धी भवन भट्टले पनि यहाँ आज आयोजित उम्मेदवारी सभामा आफ्नो उम्मेदवारी घोषणा गरे । सो पदका लागि आफू योग्य रहेको दाबी गर्दै भट्टले एनआरएनको उपाध्यक्षको जिम्मेवारीमा रही आफूले सम्पूर्ण गैरआवासीय नेपालीको समस्या, पीर, मर्का बुझेको बताए ।
उनले आवासीय र गैरआवासीय नेपालीबीच सहकार्यका लागि समन्वयको वातावरण तयार गरी एनआरएनको ‘भिजन २०२०’ तथा सामूहिक लगानीका परियोजना कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उहाँले आफूलाई एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, जीवा लामिछाने र हालका अध्यक्ष डा शेष घलेको पनि पूर्ण साथ र सहयोग रहेको बताए ।
Copyrights © 2024 All Rights Reserved by Newsbanknepal