कालीकोटमा दुई घण्टाका लागि कर्फयू हटाइयो

arjun Others/अन्य , ८ वर्ष अगाडि

कालीकोट, ९ पुस। म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कफ्र्यु दुई घण्टाका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म हटाइएको बताएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्ेका अनुसार बिहान ८ बजेदेखि १० बजेसम्म छलफलका लागि अनुरोध गरेको र सो समयसम्मका लागि मात्र कफ्र्यु हटाइएको बताउनुभयो ।

पीडित पक्ष, नागरिक समाज, राजनीतिक दल र प्रशासनबीच बिहान १० बजे छलफल शुरु हुने र मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार प्रक्रिया अगाडि बढ्ने बताउँदै प्रजिअ गैह्ेले सोका लागि सबैलाई अनुरोध गर्नुभएको छ । शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको समयमा आन्दोलनकारी म्यादी प्रहरीले प्रशासन अगाडि टायर बाल्नुका साथै ढुंगामुडा प्रहार भएपछि ४ बजेदेखि कर्फयू लगाइएको थियो । अहिले अवस्था सामान्य रहेको छ ।

नागरिक समाज र सरोकारवाला निकायले सरकारले पीडित पक्षका माग सम्बोधन गरेकाले अब प्रक्रिया पुराएर शव बुझेर आन्दोलनलाई स्थगन गर्ने बताएका छन् । म्यादी प्रहरीले पाउने पारिश्रमिकका बारेमा केही नबोलेका कारण सोकोसमेत छानबिन हुनुपर्ने नागरिक समाजले अनुरोध गरेका छन ।