एपेक्स प्रकरणका थप चारजना पक्राउ

arjun Business/अर्थ ब्यापार , ८ वर्ष अगाडि

काठमाडौँ, ६ चैत । एपेक्स डेभलपमेन्ट बैंकको रकम दुरुपयोग गरेको आरोपमा थप चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न मितिमा एपेक्सका ती उच्च अधिकारीलाई पक्राउ गरेको हो ।

कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै गत शुक्रबार ब्यूरोले तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको थियो । पछिल्लो पटक पक्राउ पर्नेहरुमा एपेक्सका सञ्चालक तथा नागरिक लगानी कोषका नौ तहका कर्मचारी छविरमण अधिकारीलाई बानेश्वरबाट पक्राउ गरेको छ ।

त्यसैगरी कर्जामा काम गर्ने कर्जा प्रबन्धक प्रमोद भट्टराईसहित सजल बज्राचार्य र त्रिवेन्द्र श्रेष्ठलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्यूरोका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिनुभयो । उनीहरुलाई कमसल धितो राखी भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको आरोप लगाइएको छ । उनीहरूले रु एक अर्ब ५० करोड ९६ लाख ३३ हजार निक्षेप दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको हो ।