काठमाडौँ, ११ चैत । सरकारले आगामी वैशाखको अन्तिम सातादेखि औद्योगिक करिडोरमा समेत विद्युत्भार कटौतीको अन्त्य गर्ने भएको छ । उद्योगी तथा व्यवसायीले औद्योगिक क्षेत्रमा हाल पनि दैनिक चार घण्टा विद्युत्भार कटौती भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि ऊर्जा मन्त्रालयको तर्फबाट त्यसको तयारी गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रको आज साँझ स्थलगत अनुगमन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७५ सालको वैशाख महिनाको अन्तिम सातादेखि नै औद्योगिक क्षेत्रलाई पूर्णरुपमा विद्युत् उपलब्ध गराउन निर्देशन दिनुभयो ।
ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसहित, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्राधिकरणका उच्च कर्मचारीलाई मन्त्री पुनले सो निर्देशन दिनुभएको हो । औद्योगिक करिडोरमा प्राधिकरणले गर्दै आएको विद्युत्भार कटौती हटाउन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका संस्थाले सरकारसँग आग्रह गर्दै आएका थिए ।

