सरकार विरुद्धको आन्दोलनको तयारीमा रहन कार्यकर्तालाई देउवाको निर्देशन

arjun Photo Gallery , Politics/राजनीति , ८ वर्ष अगाडि

 

काठमाण्डौ,६ वैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध लड्ने चेतावनी दिनु भएको छ । सभापति देउवाले कम्युनिष्ट शासन लाद्ने षडयन्त्र भईरहेको भन्दै त्यसविरुद्ध आन्दोलनको तयारीमा रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । बिहिबार नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले मुलुकमाथि थपिदै गएको संकट समाधानका लागि एक भएर अघि बढन पनि नेपाल विद्यार्थी संघलाई सचेत गराउनु भयो । सभापति देउवाले विश्वमै फेल भईसकेको कम्युनिष्ट शासन नेपालमा ल्याउने कोशिस भईरहेको पनि बताउनु भयो ।सभापति देउवाले सरकारले सबै क्षेत्रमा हस्तक्षेप गर्न खोजिरहेको आरोप पनि लगाउनु भयो ।

कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीमाथि आईपरेको चुनौति सामना हुनेगरी पार्टीलाई एकतावद्ध बनाएर लैजान सभापति देउवालाई सुझाव दिनु भयो ।महामन्त्री कोइरालाले एमाले र माओवादी केन्द्रले मिलेर पार्टीलाई दिएको चुनौतिलाई सामना गर्न पार्टी भित्र रहेका गुट, उपगुट तत्काल अन्त्य गर्नुको विकल्प नरहेको स्पष्ट पार्नु भयो । नेपाल विद्यार्थी संघले काँग्रेसको असल विचार र इतिहासबाट सिकेर अघि बढनुपर्ने महामन्त्री कोइरालाको भनाई थियो ।