सुनकाे मूल्य अहिले सम्मकै उच्च, तोलाको ७२ हजार ५००

Bhim Thapa Business/अर्थ ब्यापार , ६ वर्ष अगाडि

काठमाडाैं,८ भदाै ।निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजार २०० का दरले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० पुगेको छ ।

शुक्रबार तेजाबी सुन प्रतितोला रु ७१ हजारमा कारोवार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । यसअघि प्रतितोला रु ५/१० का दरले वृद्धि हुँदै आएको चाँदीको मूल्यमा आज प्रतितोला रु २० वृद्धि भएको छ । स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला रु ८५० पुगेको महासङ्घले जनाएको छ ।

शुक्रबार चाँदी प्रतितोला रु ८३० मा खरीदबिक्री भएको थियो । गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो । साउन महीनामा सुनको मूल्य प्रतितोला रु सात हजार र चाँदीको मूल्य प्रतितोला रु ९५ ले वृद्धि भएको थियो । भदौ महीना लागेपछि पनि दुई पटक सुनको मूल्य वृद्धि भएको छ । भदौमा छापावाला र तेजाबी सुन प्रतितोला रु एक हजार ५०० ले वृद्धि भएको छ ।

साउन १ गते छापावाला सुन प्रतितोला रु ६४ हजार ५००, तेजाबी सुन रु ६४ हजार २०० र चाँदी प्रतितोला रु ७४५ मा कारोबार भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५००, तेजाबी सुन रु ७१ हजार २०० तथा चाँदी प्रतितोला रु ८४० मा कारोबार भएको महासङ्घले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ ।