काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/०८० को लागि जारी गरिएको मौद्रिक नीति सार्वजनिक गरेको छ । आज (शुक्रबार) बिहान उक्त बैंकले सो नीति सार्वजनिक गरेको हो ।
ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याजबापतको दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने राष्ट्र बैंकले व्यवस्था गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् राष्ट्र बैंकले शुक्रबार यस्तो व्यवस्था गरेको हो । याे व्यवस्था आउँदो जेठ मसान्तसम्म कायम रहनेछ ।
समीक्षामा साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ०७९ पुस मसान्तमा सक्रिय वर्गमा रहेको २ करोड रुपैयाँ सम्मको कर्जालाई उद्योग– व्यवसायको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाइने सुविधा पनि राष्ट्र बैंकले दिएको छ ।
यसका लागि ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी ०८० असार मसान्तभित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
देशको वित्तीय क्षेत्रलाई मार्गनिर्देशन गर्नका लागि राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो ।साना ऋणि र व्यवसायीलाई सहज हुने गरि यो नीति सार्वजनिक गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।