काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीहरु एकजुट हुन सक्नु दुःखद् भएको बताउनु भएकाे छ। काठमाडौंमा शनिबार कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट पार्टीहरुबीच गहन छलफलको आवश्यकता भएको बताउनु भयाे ।
पार्टी निकट युवा सङ्घ नेपालको सहकारी विभागले कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘सहकारीको वर्तमान अवस्था, अवस्था र चुनौती’ विषयक विचार गोष्ठीमा अध्यक्ष नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना गरिएको बताउनु भयाे।
उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै सत्तामा पुगेपछि अरुलाई अपमान गर्ने गरेको टिप्पणी गर्नुभयाे । कम्युनिष्ट पार्टी भ्रष्ट, व्यक्तिवादी र सत्तामा पुगिसकेपछि अहंकारको प्रवृत्ति बढ्ने गरेको भन्दै जनतालाई अधिकार सम्पन्न बनाउन स्थापित कम्युनिष्ट पार्टी देशमा भएका सबै आन्दोलनमा क्रियाशील रहेको बताउनुभयो ।
सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रुप भएको जनाउँदै उहाँले सहकारीले आममानिसको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी, निजी र राज्य सम्मिलित तीन खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताउँदै आर्थिक सङ्कटको न्यूनीकरण गर्न समाजमा छरिएका ससाना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सन् १९३० मा भएको विश्व आर्थिक मन्दी समाधानमा सहकारी क्षेत्रको उल्लेखनीय भूमिका रहेको उहाँको भनाइ थियो । सङ्घका इञ्चार्ज दिलु पन्तले सहकारी क्षेत्रले ग्रामीण भेगका किसानलाई लक्षित गरी आर्थिक गतिविधि सञ्चालनका माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान गर्नुपर्ने बताउनुभयो । विज्ञ कृष्ण आचार्य, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाही, सहकारी विभाग प्रमुख उर्मिला कुँवर, सङ्घका नेता समिप त्रिपाठीलगायतले सहकारीले उद्यमशीलता विकास गर्न लगानी बढाउनुपर्ने भन्दै सरकारले हालै सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा समेत यसलाई सम्बोधन गरिएको बताउनुभयो ।

