२५ वटा ठूला भ्रष्टाचार काण्डकाे छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी हुँदै : गृहमन्त्री लामिछाने

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , ३ महिना अगाडि

काठमाडाैं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सरकारले भ्रष्टाचारका विभिन्न ठूला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले  भ्रष्टाचारका विभिन्न २५ वटा काण्ड पहिचान गरी छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी भइरहेको जानकारी दिएका हुन् । 

 भ्रष्टाचार नियन्त्रण गर्न आफू र सरकार इमानदाररुपमा प्रयासरत रहेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत् भ्रष्टाचार निवारणका लागि नतिजामुखी प्रयास थालेको बताए । सरकारमा रहेका दलहरुको न्यूनतम साझा सङ्कल्पमा पनि भ्रष्टाचार निवारणका लागि कदम चाल्ने उल्लेख छ । 

भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग र मजबुद संस्थागत संरचना रहेका भएपनि विभिन्न अड्चनले ती निकायबाट आशातित प्रतिफल प्राप्त गर्न नसकेको जनगुनासो कायमै रहेको उनको भनाइ थियो । सम्पत्तिको सीमाङ्कनसम्बन्धी कानुन निर्माणका लागि सरकार सकारात्मक रहेको उनले बताए । प्रतिनिधिसभाको आजको बैठकमा पञ्चायतकालदेखि हालसम्म कस-कसकाविरुद्ध भ्रष्टाचारका मुद्दा दायर भएका छन ? भनेर सांसद प्रेम सुवालले प्रश्न गरेका थिए। रासस