मनसुनी वायुको प्रभाव एक साताभर रहने,धानलाई क्षति पुग्न सक्ने!

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २९ मिनेट अगाडि

काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ ।

आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको हो ।

“साताको मध्य र अन्त्यमा देशका तराई भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साताको सुरूमा देशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै साताको अन्त्यमा कोशी, बागमती, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ,” महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “देशका अधिकांश स्थानमा साताको अन्त्यमा तापक्रम घट्ने सम्भावना छ ।”

महाशाखाको मौसमविद् प्रतिमा मानन्धरले आगामी आइतबारसम्म मुलुकको विभिन्न स्थानमा हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र त्यसपछि सुधारहुँदै जाने बताइन्।

कृषि तथा पशुपक्षी मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बर्दिया, बाँकेतिर धान पाकिसकेकाले यदी ठूलो वर्षा भएमा धानलाई क्षति पुग्न सक्ने बताए ।