विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह,वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा

Bhim Thapa Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , १ महिना अगाडि

काठमाडाैं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गरेकी छन् ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा श्रम मन्त्री शरत्सिहं भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसहितको बैठकमा मन्त्री डा राणाले उनीहरुलाई विकसित पछिल्लो परिस्थितिको अध्ययन गरी आवश्यक निकासका लागि सो आग्रह गरेकी हुन् । सो बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका प्रतिनिधिहरुले उक्त समस्याको समाधानका लागि आग्रह गर्दै मन्त्री डा राणालाई ज्ञापनपत्र बुझाएका थिए।

विमानस्थलले उडान समयमा गरेको कटौतीको कारण देखाएर हवाई कम्पनीहरूले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेका र यसका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेका छन् । विमानस्थल कार्यालयले उडानको समय दैनिक १० घन्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीहरुले काठमाडौँ उडानमा कटौती गरेका छन् ।

विमानस्थल मर्मत गरिने सूचना नेपालले छ महिना अघिदेखि नै दिएकाले अहिले आएर विदेशी हवाई कम्पनीहरुले अस्वाभाविक रुपमा भाडा बृद्धि गर्न नहुने मन्त्री डा राणाकाे भनाइछ।