पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १ वर्ष अगाडि


काठमाडौँ ।  पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय  सम्मानका साथ साेमबार अन्त्येष्टि गरिएको छ । ढुङ्गानाको पार्थिव शरीरमा उहाँका छोराहरुले दागबत्ती दिनुभयो ।पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुग्नुभएको थियो ।

नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकाे थियाे । उहाँको योगदानको सम्मान गर्दै सरकारले ढिलाे गरी आज सार्वजनिक विदासमेत दिएको थियाे ।