काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले हरिबोल गजुरेलसहितका नेताहरूमाथि गरिएको कारबाहीप्रति आपत्ति जनाएका छन् ।
उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् गजुरेलसहितका नेताहरूमाथि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको कारबाहीप्रति आपत्ति जनाएका हुन् । साथै उनले वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासनसम्मको कठोर कारबाही हुनु आश्चर्यजनक भएको बताएका छन् ।
उनले भनेका छन्,‘गजुरेलजस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन एकैचोटी सार्वजनिक सञ्चारमाध्यमबाट कारबाही गरेको थाहा पाउनु राम्रो होइन।’
उनले पार्टी कम्युनिस्ट पार्टी बनाउने भए कारबाही अविलम्ब स्थगित गरेर नेतृत्वदायी तहमा रहेका नेताहरूको आकस्मिक बैठक बोलाउन संयोजक प्रचण्डसँग माग गरेका छन् । पार्टीको निर्णय विपरित सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेपछि नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निष्कासनमा परेका छन् ।

