काठमाडौँ, १९ पुस । निर्वाचन आयोगले उत्तेजना फैलाउने तथा आफ्नो मानमर्दन गर्ने क्रियाकलाप नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ । प्रतिनिधिसभाको समानपातिक मत परीणाम सार्वजनिक नगरेको भन्दै वाम गठबन्धनसम्वद्ध युवा तथा विद्यार्थीले आन्दोलन थालेपछि आयोगले असन्तुष्टि जनाएको हो । आयोगले आज विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचन नभएसम्म प्रतिनिधिसभाको समानुपातिकको परिणाम सार्वजनिक गर्न आयोगलाई संवैधानिक र कानुनी अड्चन रहेको बताएको छ ।
संविधानको धारा ८४ को (८) र प्रतिनिधिसभा सदस्य ऐन २०७४ को दफा ६० (४) को प्रावधान अनुसार हुने बताएको छ । राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट तोक्न र दलहरूलाई बन्द सूचीमा रहेका उम्मेदवारहरुमध्ये विजयी हुने उम्मेदवारहरुको नामहरु सिफारिस गर्नका लागि दलहरुलाई पत्राचार गर्न आयोग असमर्थ रहेको स्पष्ट पारेको छ ।

