काठमाण्डौ,२६ पुस ।निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरि आयोगले आगामी माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक कार्यतालिका अनुसार,माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने,सोही दिन प्रकाशित नामावली उपर दावी विरोधको उजुरी दिने, माघ ८ गते उजुरीउपर छानवीन गरी अन्तिम नामावली प्रकाशन गर्ने,माघ १० गते उम्मेद्वारी मनोनयनपत्र दर्ता र सूची प्रकाशन गर्ने उल्लेख छ । त्यसैगरी माघ ११ गते उम्मेद्वारको विरोधमा उजुरी दिने,१३ गते मनोनयनपत्र साथै उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने र १४ गते मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशन गर्ने तथा उम्मेद्वारको नाम फिर्ता लिने र माघ १५ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी सोहि दिन उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । आयोगले माघ २४ गते बिहान १० बजे देखि ३ बजे सम्म मतदानको समय निर्धारण गरेको छ । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन कार्यतालिका, निर्वाचन कार्यक्रम र निर्वाचन अधिकृतको नियुक्ती गरिएको जानकारी दिनुभयो ।
निर्वाचन आयोगले न्याय परिषद् सचिवालयबाट प्राप्त नामावली बमोजिम ७ प्रदेशबाट एक÷ एक गरी ७ जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको पदमा नियुक्ती समेत गरेको छ । आयोगले निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा पुस २९ गते स्थापना गर्ने जनाएको छ । साथै आयोगले माघ ७ गतेभित्र प्रदेश प्रमुखको नियुक्ति गर्न समेत सरकारलाई आग्रह गरेको छ ।
राष्ट्रियसभा सदस्य निर्वानका लागि स्थानीय तह अन्र्तगतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेशसभाका सदस्य मतदाता रहने व्यवस्था छ । यस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १ हजार ५ सय ६ जना तथा प्रदेशसभाका ५ सय ५० सदस्य गरी जम्मा २ हजार ५६ जना मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष , उपाध्यक्ष , प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि ५६ जना निर्वाचित हुने व्यवस्था छ । अन्य तीन जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।