काँग्रेसले संघीय संसदीय दलको विधान टुङ्ग्यायो

arjun Others/अन्य , ७ वर्ष अगाडि

 

काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेसले संघीय संसदीय दलमा पेश भएको विधानलाई परिमार्जनसहित पारित गरेको छ ।
काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले नेता डा मीनेन्द्र रिजालले प्रस्तुत गर्नुभएको विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

परिमार्जित विधानलाई भोलि आइतबारदेखि शुरु हुने केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि दलको नेता चयन प्रक्रिया शुरु हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले तीनवटै तह स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सफलताका साथ सम्पन्न गरेकामा सभापति देउवालाई धन्यवाद ज्ञापन गरेको छ ।

त्यस्तै, काँग्रेसले तत्कालीन देउवा सरकारले राष्ट्रियसभाका लागि तीन सदस्य मनोनीत गरेकामा राष्ट्रपतिले बदर गर्नु असंवैधानिक कदम भएको आरोप लगाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।