नेपाल आज स्कटल्याण्डविरुद्ध मैदानमा उत्रदै

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाडौं,२४ फागुन । आईसीसी विश्वकप छनोट खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । सुपर सिक्समा पुग्ने लक्ष्य लिएको नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र स्कटल्याण्डबीचको खेल बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार १ः१५ मा सुरू हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

नेपालको तुलनामा स्कटल्याण्ड बलियो टोली हो । तर, नेपाल स्कटल्याण्डलाई हराउँदै सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्ने योजनाका साथ मैदान उत्रने छ । पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग पराजित नेपाल स्कटल्याण्डविरुद्ध पहिलो जितको खोजीमा समेत हुनेछ ।

आईसीसी डिभिजन टु को उपविजेता बन्दै विश्वकप छनोटमा पुगेको नेपाललाई स्कटल्याण्डमाथि जित निकाल्न कठिन भने देखिन्छ । विश्वकप छनोटको समूह बी मा रहेको स्कटल्याण्डले लगातार दुई खेल जितिसकेको छ । नेपाल समूह बिको पुछारमा रहेको छ । यस्तो अवस्थामा स्कटल्याण्ड इतिहासलाई कायम राख्न चाहन्छ भने नेपाल पुरानो इतिहासलाई मेटाउने योजनामा हुनेछ ।नेपालले सन् २०१४ को विश्वकप छनोटमा स्कटल्याण्डसँग पहिलो पटक खेलको थियो ।