निर्मलाको परिवारलाई १० लाख रकम राहत दिइने, खुनालाई शहीद घोषणा

arjun Others/अन्य , ८ वर्ष अगाडि

 

काठमाडौं, १० भदौ ।सरकारले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राति बसेको मन्त्रिपरिषद्को बैठकले घटनाप्रति भत्र्सना गर्दै पन्तको परिवारलाई उक्त आर्थिक सहायता दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

पन्तको घटनाको छानबिनको माग गर्दै प्रदर्शन भइरहेका बेला मन्त्रिपरिषद्ले कञ्चनपुरमा भएको सर्वपक्षीय बैठकको सुझावसमेतलाई ध्यान दिई सो निर्णय गरेको बाँस्कोटाले बताए ।गत साउन ११ गते भगतपुरस्थित साथीको घरमा गृहकार्य गर्न गएकी भीमदत्तनगर नगरपालिका वडा नं २ निवासी कक्षा ९ मा अध्ययनरत पन्तको शव स्थानीय उखुबारीमा भेटिएको थियो ।

खुनालाई शहीद घोषणा

पन्तको घटनालाई लिएर यही भदौ ८ गते कञ्चनपुरमा भएको प्रदर्शन र झडपका क्रममा मृत्यु भएका १४ वर्षीय शनि खुनालाई शहीद घोषणा गरी राहतस्वरुप १० लाख सहायता दिने निर्णय समेत गरेको छ ।घटनामा परी घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने र घाइतेमध्ये अङ्गभङ्ग भएकालाई आर्थिक सहायता उपलब्ध गराउनेछ ।

पन्तको घटनाका सम्बन्धमा गृह मन्त्रालले गठन गरेको उच्चस्तरीय छानबिन समितिलाई भदौ ८ गतेको घटनाबारे पनि छानबिनको अख्तियारी दिइ छिटोभन्दा छिटो सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारवाहीको सिफारिश गराउन बैठकले मन्त्रालयलाई निर्देशन दिएको छ ।